डडेलधुराः करिब तीन वर्षदेखि सञ्चालन हुँदै आएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सेवा डडेलधुरामा बन्द भएको छ। यातायात व्यवस्था कार्यालयसँग आफ्नै ट्रायल सेन्टर नहुँदा सेवा अवरुद्ध भएको हो।
सुदूरपश्चिम प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय डडेलधुराले निजी ड्राइभिङ सेन्टरसँग सम्झौता गरेर सेवा दिँदै आएको थियो। तर बिहीबार उक्त सम्झौता खारेज गरिएपछि लाइसेन्स सेवा पूर्ण रूपमा बन्द भएको हो।
कार्यालयले सूचना जारी गर्दै उग्रतारा ड्राइभिङ सेन्टरसँगको सम्झौता रद्द गरिएको जनाएको छ। कार्यालय प्रमुख विष्णुदत्त भट्टका अनुसार २०७९ असारदेखि सो सेन्टरको ट्रायल मैदान प्रयोग गरी सेवा सञ्चालन हुँदै आएको थियो।
तर सेवाग्राहीबाट सवारीसाधन प्रयोग गरेबापत अनावश्यक शुल्क असुलिएको व्यापक गुनासो आएपछि सम्झौता तोड्ने निर्णय गरिएको उनले बताए। “पटक–पटक आग्रह गर्दा पनि मनोमानी शुल्क लिने क्रम नरोकिएपछि वैशाख ३ गतेको निर्णयअनुसार सम्झौता खारेज गरेका हौँ,” उनले भने।
ट्रायल सञ्चालनका लागि दैनिक ५,५०० रुपैयाँ भुक्तानी गर्ने व्यवस्था थियो। परीक्षार्थीले सवारीसाधन उपलब्ध नगराएमा सेन्टरले नै गाडी उपलब्ध गराउने सहमति भए पनि यही विषयमा बढी गुनासो आएको जनाइएको छ।
यसअघि महिनामा दुई पटक ट्रायल र एक पटक लिखित परीक्षा सञ्चालन हुँदै आएको थियो। २५० भन्दा बढी परीक्षार्थी पुगेपछि परीक्षा सञ्चालन गरी लाइसेन्स वितरण गरिँदै आएको कार्यालयले जनाएको छ।
अब सेवा पुनः सञ्चालनका लागि तीन विकल्प अघि सारिएका छन्। पहिलो, अमरगढी नगरपालिका–स्याउले नजिकै सरकारी जमिनमा आफ्नै ट्रायल सेन्टर निर्माण गर्ने। दोस्रो, निजी जमिन भाडामा लिएर आवश्यक संरचना बनाएर सेवा सञ्चालन गर्ने। तेस्रो, लिखित र बायोमेट्रिक परीक्षा डडेलधुरामै गरी ट्रायल परीक्षा भने डोटीको दिपायलस्थित कार्यालयमा सञ्चालन गर्ने।
कार्यालयका अनुसार स्याउले क्षेत्रमा १४ रोपनीभन्दा बढी सरकारी जमिन उपलब्ध भइसकेको छ। आवश्यक प्रक्रिया पूरा भएमा छिट्टै ट्रायल सेन्टर निर्माण अघि बढ्ने बताइएको छ।