सिफारिस

धनगढीमा पतिराम मृत्यु प्रकरण: कुकुर विवादपछि छिमेकीको घरमा बोलाइएका पुरुषको ज्यान गयो, ४ पक्राउ

धनगढी उपमहानगरपालिका–१, बुद्धमन्दिर क्षेत्रमा कुकुरको विषयमा सुरु भएको विवादले ज्यानै जाने अवस्था सिर्जना गरेको छ। ५६ वर्षीय पतिराम चौधरीको मृत्यु भएपछि प्रहरीले छिमेकी परिवारका चार जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार शुक्रबार राति छिमेकी महेश श्रेष्ठले ‘आफ्नो कुकुर मारिएको’ भन्दै चौधरीलाई घरमा बोलाएका थिए। सोही क्रममा श्रेष्ठको घरको सिँढीबाट खसेर चौधरी बेहोस अवस्थामा फेला परेका थिए। उनलाई तत्काल सेती प्रादेशिक अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश बिष्टले प्रारम्भिक अनुसन्धानमा कुकुरको विषयमा विवाद भएपछि चौधरीलाई राति करिब ११ बजे श्रेष्ठको घर लगिएको खुलासा गरेका छन्।

घटनापछि प्रहरीले महेश श्रेष्ठसहित उनकी आमा सुमित्रा श्रेष्ठ, दाजु दिनेश श्रेष्ठ र भाउजु ज्ञानु श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। मृतककी श्रीमती रूपा चौधरीले ‘कर्तव्य ज्यान’ मुद्दामा किटानी जाहेरी दिएपछि चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मृतकका परिवारका अनुसार चौधरी आधा घण्टासम्म घर नफर्किएपछि खोज्दै जाँदा उनी श्रेष्ठको घरको सिँढीमुनि बेहोस अवस्थामा फेला परेका थिए। शरीरमा चोटपटक देखिएकाले हत्या भएको आशंका गरिएको छ।

यद्यपि, श्रेष्ठ परिवारले भने कुटपिट नगरेको दाबी गर्दै सिँढीबाट लड्दा घटना भएको बताएका छन्। उनीहरूले बेहोस अवस्थामा भेटिएका चौधरीलाई होसमा ल्याउन पानी र बरफ प्रयोग गरेको दाबी गरेका छन्।

प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको र सत्य तथ्य अनुसन्धानपछि मात्र सार्वजनिक गरिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?