धनगढी । कैलालीमा जिप र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको ज्यान गएको छ।
कैलारी गाउँपालिका–१ स्थित हुलाकी राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ३७५३ नम्बरको बोलेरो पिकअप जिप र विपरीत दिशाबाट आउँदै गरेको बा २६ प ३०२७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१९ फूलबारी बस्ने २२ वर्षीय राम मिलन चौधरी गम्भीर घाइते भएका थिए।
घाइते चौधरीलाई उपचारका लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा उपचारकै क्रममा शनिबार बेलुका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
दुर्घटनापछि जिपसहित चालक भजनी नगरपालिका–५ का २३ वर्षीय राजु डगौरालाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।