कैलालीको लम्कीचुहा नगरपालिका–७ गुलरामा नयाँ वर्ष २०८३ को पहिलो दिन साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
आज साँझ करिब ६:१० बजेतिर पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ ज १४२१ नम्बरको हाइसले विपरीत दिशाबाट आइरहेको सु.प.प्र. ०१०१३ प ५१३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका–८ का ३३ वर्षीय गगन राना मगर गम्भीर घाइते भएका छन्। उनको टाउको र मुखमा चोट लागेको छ भने उपचारका लागि सुरुमा बर्दगोरिया अस्पताल बहुनिया पठाइएपछि थप उपचारका लागि टिकापुर अस्पताल रिफर गरिएको छ।
यस्तै, सोही मोटरसाइकलमा सवार २४ वर्षीय पुष्प सुनारको उपचारका क्रममा टिकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि हाइस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधन घटनास्थलमै रहेका छन्।
घटनापछि आक्रोशित स्थानीय र घाइतेका आफन्त करिब ४०–५० जनाले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। सडक अवरुद्ध हुँदा दुवैतर्फ करिब ३०–३५ वटा सवारी साधन जाममा परेका थिए।
इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी निरीक्षक कबिराज रोकायको कमाण्डमा गएको टोलीसहित, इलाका प्रहरी कार्यालय सुख्खड र सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थलमा खटिएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीको पहल जारी रहेको जनाइएको छ।