धनगढी: सेवाग्राहीलाई अनावश्यक हैरानी दिने आरोपमा ६ जना पक्राउ
धनगढी – कैलालीको धनगढीस्थित यातायात कार्यालयमा सेवाग्राहीलाई अनावश्यक हैरानी दिएको आरोपमा प्रहरीले बुधबार अपराह्न ६ जनालाई नियन्त्रणमा लिएको छ।
वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक बलराम पाण्डेय र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले सवा चार बजे उनीहरूलाई पक्राउ गरेको थियो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२२ की २२ वर्षीय पार्वती जोशी, वडा नं. १३ की २५ वर्षीया सीता राना र सोही स्थानका २८ वर्षीय दिनेश राना रहेका छन्। साथै, धनगढी–७ बस्ने ४२ वर्षीय रामनारायण चौधरी, ५ बस्ने ३८ वर्षीय जगत थापा र कैलारी गाउँपालिका–३ का ३८ वर्षीय रामेश्वर चौधरी पनि नियन्त्रणमा लिइएका छन्।
प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेको जनाएको छ।