सिफारिस

कैलारीमा मोटरसाइकल दुर्घटना : ट्राफिक प्रहरी जवान गम्भीर घाइते

धनगढी, कैलाली :

कैलालीको कैलारी गाउँपालिकास्थित हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक ट्राफिक प्रहरी जवान गम्भीर घाइते भएका छन्।

कैलारी गाउँपालिका–३ को भर्री चोक नजिक सुदूरपश्चिम प्रदेश ०१००८ प ४८१२ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा अस्थायी ट्राफिक पोष्ट हसुलियामा कार्यरत प्रहरी जवान अनिल कुमार रावल गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार रावलले चलाएको मोटरसाइकलले कैलारी गाउँपालिका–३ का २६ वर्षीय रशिल चौधरीलाई ठक्कर दिएको थियो।

ठक्करबाट चौधरी सामान्य घाइते भएका छन् भने रावलको अवस्था गम्भीर रहेको जनाइएको छ। टाउकोमा चोट लागेर बेहोस भएका रावलको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। चौधरी पनि सोही अस्पतालमा उपचाररत छन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?