धनगढी उपमहानगरपालिकाले निजी विद्यालयहरूलाई जथाभावी पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन दिएको छ।
उपमहानगरपालिकाले अभिभावकमाथि आर्थिक भार बढेको गुनासो बढेपछि यस्तो निर्णय गरेको जनाएको छ। प्रत्येक वर्ष विद्यालयहरूले मनोमानी रूपमा पुस्तक परिवर्तन गर्दा विद्यार्थी र अभिभावक मारमा परेको भन्दै अब त्यसमा नियन्त्रण गरिने बताइएको छ।
शिक्षा शाखाका अनुसार अब विद्यालयहरूले पाठ्यपुस्तक परिवर्तन गर्नुपरेमा सम्बन्धित निकायको स्वीकृति लिनुपर्नेछ। स्वीकृति बिना पुस्तक परिवर्तन गरे कारबाही गरिने चेतावनी समेत दिइएको छ।
उपमहानगरपालिकाले गुणस्तरीय शिक्षा कायम राख्दै अभिभावकमाथि अनावश्यक आर्थिक बोझ नपरोस् भन्ने उद्देश्यले यस्तो कदम चालिएको स्पष्ट पारेको छ।
यस निर्णयले अभिभावकहरूलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ ।