
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित, शान्तिपूर्ण तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउने हेतुले जिल्ला प्रशासन कार्यालयहरूले नागरिकका नाममा दर्ता रहेका हतियारहरू पछि फिर्ता गर्ने गरी सरकारलाई बुझाउन अनुरोध गरेको छ। निर्वाचनको समयमा समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न तथा कुनै पनि प्रकारका अवाञ्छित गतिविधि, हिंसा, डरत्रास वा दुरुपयोगको सम्भावनालाई न्यूनीकरण गर्न हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय बर्दियाले सर्वसाधारणलाई अनुरोध गरेको छ।
बर्दिया जिल्लाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गरेका नागरिकहरूले आफ्नो नाममा दर्ता भई वैध रूपमा रहेका बन्दुक, राइफल, रिभल्भर, पेस्तोल लगायतका हातहतियार तथा त्यसका गोलीगट्ठा माघ मसान्तभित्र नजिकको प्रहरी चौकी वा इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय बर्दियामा अनिवार्य रूपमा बुझाउन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए। हतियार बुझाएरका धनीलाई हामीले भरपाइ (रसिद) दिन्छांै।
उनले भने, ‘निर्वाचन प्रक्रिया सम्पन्न भई शान्ति सुरक्षाको अवस्था सामान्य भएपछि बुझाइएका हात हतियारहरू निर्वाचन सम्पन्न भएको १ महिना चैत २० गते पछि सम्बन्धित हतियार धनीलाई बुझाइएको निकायमा पुगी भरपाइका आधारमा हतियार फिर्ता लिन सक्नुहुन्छ। तोकिएको समयभित्र हतियार नबुझाएमा प्रचलित काननुनबमोजिम आवश्यक कारबाही हुने प्रजिअ हमाले बताए। हामीले निर्वाचनलाई मध्यनजर गर्दै वैध हतियार संकलन गर्ने अभियान चलाएका हौं। बर्दियामा करिब ८ देखि ९ सयको हाराहारीमा लाइसेन्स हतियार छन्। जसमध्ये ७२ वटा हतियार नवीकरण भएको प्रशासनको तथ्यांक छ। हालसम्म कसैले हतियार बुझाएका छैनन्।