काठमाडौँ — मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा शनिवार सम्पन्न एसियाली क्रिकेट काउन्सिल (एसीसी) मेन्स प्रिमियर कपको रोमान्चक फाइनल भिडन्तमा नेपालले आफ्नो परम्परागत प्रतिस्पर्धी युएईलाई ४४ रनले पराजित गर्दै सन् २०२७ को एसिया कपमा आफ्नो स्थान पक्का गरेको छ। बंगलादेशमा आयोजना हुने आगामी एसिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलङ्का, बंगलादेश र अफगानिस्तान जस्ता क्रिकेटका दिग्गज राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल एसिया कपमा छनोट भएको यो दोस्रो पटक हो, यसअघि नेपालले सन् २०२३ मा पनि युएईलाई नै हराएर पहिलो पटक एसिया कप खेलेको थियो।
टोलीका ओपनर आसिफ शेखको सानदार शतकीय पारिको बलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ३१३ रनको विशाल योगफल तयार पारेको थियो। एकदिवसीय क्रिकेटमा नेपालले ३०० रनभन्दा बढीको योगफल बनाएको यो तेस्रो पटक हो। आसिफले १०६ बलमा ४ छक्का र ८ चौकाको मद्दतले १०२ रन बनाए भने अर्जुन कुमालले ४३ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाए। त्यसैगरी गुल्शन झाको विष्फोटक ५२ रन (३८ बल) र कप्तान रोहित पौडेलको ४० रनको योगदानले नेपाललाई बलियो स्थितिमा पुर्याएको थियो।
३१४ रनको फराकिलो लक्ष्य पछ्याएको युएईको टोली ४९.१ ओभरमा २६९ रनमा अलआउट हुन पुग्यो। युएईका लागि राहुल चोपडाले १०५ बलमा अविजित १०० रनको शतकीय पारि र सोहेब खानले ५२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। नेपाली बलरहरूको कसिलो बलिङका अगाडि युएईका अन्य ब्याटरहरू लामो समय क्रिजमा टिक्न सकेनन्।
विशाल जनसहभागिता र मैदानमा नेपाली समर्थकहरूको उत्साहजनक उपस्थितिबिच नेपालले प्राप्त गरेको यो ऐतिहासिक जितपछि टोली आज (आइतबार) राति मलेसियन एयरलाइन्समार्फत ट्रफीसहित स्वदेश फर्कँदै छ।