सिफारिस

प्रेम आलेको चेतावनी: ५७ जनाको नाम सार्वजनिक नगरे कानुनी बाटोमा जान्छु

धनगढी,कैलाली क्षेत्र नं. ५ को प्रतिनिधिसभा निर्वाचनसँग जोडिएको ‘५७ जनाको सूची’ विवाद अहिले राजनीतिक बहसको केन्द्रमा पुगेको छ। सामाजिक सञ्जालमा फैलिएको आरोप र त्यसपछि आएका प्रतिक्रिया–प्रतिक्रियाबीच प्रेम बहादुर आले ले आफ्नो धारणा सार्वजनिक गरेका छन्।

आइतबार जारी प्रेस विज्ञप्तिमार्फत आलेले आफूविरुद्ध फैलाइएका सबै आरोपलाई असत्य र आधारहीन ठहर गर्दै खण्डन गरेका छन्। उनले निर्वाचन परिणामलाई सम्मान गरिसकेको र जनमतलाई स्वीकार गरिसकेको उल्लेख गर्दै अहिले देखिएको विवादलाई योजनाबद्ध प्रचारको संज्ञा दिएका छन्।

यो विवाद त्यतिबेला सुरु भएको हो जब नरनारायण शाह मनु ले अन्तर्वार्तामा आफूलाई ५७ जनाको नामावली प्राप्त भएको दाबी गरेका थिए। उक्त सूची अन्य उम्मेदवारमार्फत आएको भनिएपछि राजनीतिक वृत्तमा तरंग सिर्जना भएको थियो।

तर आलेले भने यस्तो कुनै सूची आफूले नदिएको दाबी गर्दै प्रमाण भए सार्वजनिक गर्न खुला चुनौती दिएका छन्। “प्रमाण देखाइयो भने स्वीकार्छु, अन्यथा कानुनी बाटो रोज्छु,” उनको चेतावनी छ।

आलेले आफ्नो लामो राजनीतिक यात्रालाई उल्लेख गर्दै कैलाली क्षेत्रका कांग्रेसी नेताहरूसँग न्यून चिनजान रहेको अवस्थामा यस्तो आरोप लगाइनु नै आश्चर्यजनक भएको बताएका छन्। साथै, उनले यस्तो प्रचार आफ्नो चरित्रमाथि प्रहार गर्ने उद्देश्यले गरिएको आरोप लगाएका छन्।

यो घटनाले चुनावी पारदर्शिता, राजनीतिक संस्कार र सामाजिक सञ्जालको भूमिकामाथि पुनः प्रश्न उठाएको छ। अब यस विषयमा तथ्य के हो भन्ने कुरा सार्वजनिक हुने वा कानुनी प्रक्रियामा जाने भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?