सिफारिस

जनकपुर पुछारमा, कर्णाली छैटौं

साविक विजेता जनकपुर बोल्ट्स ७ खेलमा छैटौं पराजय भोग्दै पुछारमा रह्यो, त्यस्तै चितवन राइनोज सातौं, कर्णाली याक्स छैटौं र पोखरा एभेन्जर्स पाँचौं स्थानमा रहे।

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले यस सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को यात्रा पुछारमा रहेर टुंग्याएको छ । लिग चरणको अन्तिम खेलमा जनकपुर आइतबार कर्णाली याक्ससँग ३ रनले पराजित भयो । 

टस हारेपछि ब्याटिङ निम्तो पाएको कर्णालीले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ९ विकेट गुमाई १ सय २९ रन बनाएको थियो । जवाफमा जनकपुरले ७ विकेट गुमाई १ सय २६ रनमात्र बनाउन सक्यो ।

सञ्जय कृष्णमूर्तिको सानदार प्रदर्शनपछि जनकपुरलाई विजयनिम्ति अन्तिम ओभरमा १४ रन बनाउनुपर्ने समीकरण थियो । अन्तिम दुई बलमा यो ९ रनको स्थितिमा पुग्यो । कप्तान यान निकोल लफ्टी इटनले पाँचौं बलमा ४ चौका प्रहार गरेका थिए । तर अन्तिम बलमा उनले १ रनमात्र जोडे । दोस्रो रन लिने प्रयासमा उनका जोडी आदित्य महता रनआउट हुन पुगे ।

जनकपुरका प्रमुख खेलाडीद्वय ‘मार्की’ आसिफ शेख र कप्तान अनिल साह शून्यमा आउट भए । ओपनर माज सदाकत १२ र मयन यादव ९ रनमा आउट भएपछि कृष्णमूर्ति र संगिथ कोरेले पाँचौं विकेटमा ७५ रनको साझेदारी गरेर जनकपुरको स्थिति सुधारेका थिए ।

कोरेले ३२ बल खेल्दै १ चौकासहित २५ रन बनाए । कृष्णमूर्तिले ३९ बलमा ५१ रन बनाए । अन्तिम ओभरको पहिलो बलमा आउट भएका उनले दीपेन्द्र रावतलाई लगातार ३ छक्का प्रहार गरेका थिए । उनले कुल १ चौका र ४ छक्का प्रहार गरे । लफ्टी इटन १३ रनमा अविजित रहे ।

कर्णालीबाट विलियम बोसिस्टोले २ विकेट लिए । प्लेयर अफ द म्याच उनले ४ ओभरमा १८ रन खर्चेका थिए । मार्क वाटले ४ ओभरमा १ मेडन राख्दै ९ रन खर्चेर १ विकेट लिए । उनीसँगै पवन सर्राफ, नन्दन यादव र कप्तान सोमपाल कामीले १–१ विकेट लिए ।

दुवै टोली यो खेलअघि नै प्लेअफ दौडबाट बाहिरिसकेका थिए । जनकपुर ७ खेलमा छैटौं पराजय भोग्दै पुछार (आठौं स्थान) मा रह्यो । गत सिजनमा तेस्रो भएको कर्णाली भने चितवन राइनोजलाई रनरेटमा उछिन्दै छैटौं भयो । कर्णालीले ७ खेलमा २ मा जित र ५ मा हारको नतिजा निकालेको हो ।

यसअघि कर्णालीबाट ओपनर इमरान शेखले सर्वाधिक ३३ रन बनाए । प्रतियोगितामा पहिलो खेल खेलिरहेका उनले ३२ बल खेलेर समान १ चौका र छक्का प्रहार गरे । उनका ओपनिङ जोडी मार्क वाट ४ रनमै आउट भए भने प्रिंयाक पञ्चालले १८ बल खेल्दै ३ चौकासहित १६ रन बनाए ।

गुलशन झा २० बल खेलेर १ चौकासहित १९, बोसिस्टो १५, नाजिबुल्लाह जाद्रान १३, सर्राफ १ र अर्जुन घर्ती ४ रनमा आउट भए । सोमपाल ११ बल खेल्दै १–१ चौका र छक्कासहित १८ रन बनाई अविजित रहे । दीपेन्द्र रावतले २ रन बटुलेका थिए ।

जनकपुरका ललित राजवंशी र आदित्य महताले २–२ विकेट लिए । ललितले ३ ओभरमा १६ र एकमात्र ओभर गरेका आदित्यले ९ रन खर्चेका थिए । कोरे, अनिल र सदाकतले १–१ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?