रुकुम पश्चिम । रुकुम पश्चिम प्रहरीले जेनजी आन्दोलनको बेला कारागारको गेट तोडेर फरार भएका एक कैदीलाई पक्राउ गरेको छ।
जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका बाँफिकोट गाउँपालिका–२ जिपुका २६ वर्षीय दुर्गालाल परियार भनिने दुर्गालाल दमाईलाई प्रहरीले पक्राउ गरेको हो।
रुकुम जिल्ला अदालत मुसिकोटले २०८१ माघ ६ गते उनलाई जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद, ५ लाख रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो। उक्त सजाय भुक्तान गर्न कारागार कार्यालय रुकुम पश्चिममा रहेका उनी २०८२ भदौ २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनको क्रममा कारागारको गेट तोडेर भागेका थिए।
कारागारबाट फरार रहेका दुर्गालाल आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा २०८३ भदौ २५ गते राति करिब ९ बजे पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ।
सूचना अधिकारी तथा प्रहरी निरीक्षक हेमन्त गिरीले जारी गरेको प्रेस नोटमा आवश्यक कारबाहीका लागि उनलाई शुक्रबार रुकुम जिल्ला अदालत मुसिकोट रुकुम (पश्चिम भाग) मा उपस्थित गराइने उल्लेख छ।