काठमाडौँ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले कोठा खोज्ने नाममा भइरहेको विभेद र जातीय छुवाछूतका घटनाप्रति आपत्ति जनाएकी छन्। मंगलबारको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद विकले कोठा खोज्ने बहानामा भएको छुवाछूतको घटनालाई ‘असाध्यै पीडादायी’ भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्।जातीय छुवाछूत र विभेदलाई प्रश्रय दिने ‘मामा–भान्जा’ नामक प्राइभेट कम्पनी र कोठा खोज्ने नाममा विभेद गर्ने कार्यमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याउन उनले माग गरिन्। छुवाछूत गर्ने र विभेदलाई प्रोत्साहन गर्ने संस्थालाई कारबाही नगरिनु र सरकार मौन बस्नु गलत भएको भन्दै उनले प्रश्न उठाइन्।दीपा नेपालीले माइतीघर मण्डलामा ‘सरकार कोठा खोइ’ भन्दै सुरु गरेको सत्याग्रह १५० दिन पुग्दासमेत सरकारले बेवास्ता गरेको सांसद विकले बताइन्। १५० दिन भइसक्दा पनि सरकार र कानुन अझै निदाएको उल्लेख गर्दै उनले यो व्यवस्था र संविधानको उपहास भएको बताइन्।