भोटेकोशी र त्रिशूली नदीमा आएको भिषण बाढीका कारण घरबारविहीन भएका रसुआ, नुवाकोट र धादिङका ३,६०० भन्दा बढी बाढीपीडितहरू विभिन्न ३७ वटा अस्थायी होल्डिङ सेन्टर (आश्रयस्थल) मा बस्न बाध्य भएका छन्। आश्रयस्थलहरूमा खानेपानीको तीव्र अभाव, कमजोर सरसफाइ र अस्पताल जोड्ने सडक तथा पुलहरू भत्किएका कारण बिरामीहरूले सहज उपचार पाउन सकेका छैनन्। हालसम्म कुनै ठूलो महामारी नदेखिए तापनि आश्रयस्थलमा रहेका बालबालिका तथा वृद्धवृद्धाहरूमा रुघाखोकी, भाइरल ज्वरो र झाडापखाला जस्ता स्वास्थ्य समस्याहरू बढ्दै गएका छन्।
हाल आश्रयस्थलहरूमा १,२३३ जना बालबालिका रहेका छन्, जो खानेपानी र सरसफाइको कमीका कारण सङ्क्रमणको उच्च जोखिममा छन्। खानेपानीका दर्जनौँ आयोजनाहरू बाढीले बगाएपछि केही स्थानका पानीका नमुनामा ‘ई-कोलाई’ (E. coli) जीवाणु भेटिएको थियो, जसलाई हाल क्लोरिनेसन गरी सुधार गर्ने प्रयास भइरहेका छन्। स्वास्थ्यकर्मीहरूले स्थिति नियन्त्रणमै रहेको र निरन्तर निगरानी गरिरहेको बताएका छन्। यद्यपि, बाढीपीडितहरूले दीर्घकालीन रोगको औषधि छुटेको, आधारभूत स्वास्थ्य सेवा पाउन कठिन भएको र ठूलो धनजनको क्षतिपछि उनीहरूमा गम्भीर मानसिक आघात (ट्रमा) परेकाले दीर्घकालीन परामर्श तथा राहतको आवश्यकता रहेको औंल्याइएको छ।