काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गर्दै समसामयिक विषय र विपद् व्यवस्थापनबारे ध्यानाकर्षण गराएका छन्।
सभामुखको कार्यकक्षमा मंगलबार भएको भेटमा उनले भदौ १० गतेको विपत्तिपछि उत्पन्न नयाँ परिस्थितिका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमको स्वरूप बदल्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
सरकारलाई थप जिम्मेवार बनाउन र पुग्न नसकेका ठाउँमा समन्वय गर्न समितिले सघाउने उनले प्रस्ट पारे। विपद्का बेला राज्य छ भन्ने अनुभूति गराउन पनि यस्तो समिति तत्काल गठन हुनुपर्ने उनले बताए।
प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघीय महासभा भ्रमणबारे पनि भेटमा छलफल भएको थियो। महासभामा बोल्न पाइने थोरै समयमा मुलुकका सबै भावना समेट्न गाह्रो हुने आङ्देम्बेले बताए। ‘त्यहाँ बोल्न पाइने पाँच-छ मिनेटमा धेरै कुरा भन्न सकिँदैन,’ उनले भने, ‘त्यसैले साइड वार्ताहरूमा ध्यान दिनुपर्छ।’
देश छाड्नुअघि प्रधानमन्त्रीले आफ्नै नेतृत्वमा सर्वदलीय संयन्त्रको बैठक बोलाएर छलफल गर्नुपर्ने सुझाव उनले दिए। यसले प्रधानमन्त्रीको भ्रमणलाई थप प्रभावकारी र विश्वसनीय बनाउने उनको दाबी छ।
आङ्देम्बेले सभामुखलाई नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिकाबारे पनि जानकारी गराए। आगामी ३ र ४ गते वडा, १० गते प्रदेश र क्षेत्र तथा १६ देखि १९ गतेसम्म केन्द्रीय अधिवेशन हुने उनले बताए।
यसैगरी, संसदीय समितिको मागबारे पत्रकारको प्रश्नमा उनले सभामुख सकारात्मक रहेको जवाफ दिए। ‘यो त स्वयं सत्तापक्षका सभापतिले राखेको प्रस्ताव हो,’ उनले भने, ‘यसमा सबै प्रतिपक्षी दलको एकमत छ।’ विपद्को घडीमा पक्ष र प्रतिपक्ष नभनी सबै दल सरकारको साथमा रहेको उनले प्रस्ट पारे। संसदीय समिति संसद्कै आधिकारिक संस्था भएकाले यसलाई सरकारले विपक्षीका रूपमा हेर्न नहुने उनको तर्क छ।