सिफारिस

बुढानीलकण्ठको गरुड क्यासिनोमा नेपाली नागरिक जुवा खेल्दै गर्दा ११ जना पक्राउ

काठमाडौँ। काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ तौलुडस्थित गरुड क्यासिनोभित्र जुवा तास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाली नागरिक प्रवेश गराई जुवा तास खेलाइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बुढानीलकण्ठको संयुक्त टोलीले जाँच गर्दा उनीहरू पक्राउ परेका हुन्।

सोमबार दिउँसो अन्दाजी २:०० बजे नेपाली नागरिकलाई क्यासिनो प्रवेश गराई क्वाईनमा नगद सटही गरेर हारजित हुने गरी जुवा तास खेलाइरहेको अवस्थामा उनीहरू फेला परेका हुन्।

प्रहरीले घटनास्थलबाट १० लाख ८५ हजार ६०० रुपैयाँ नगद र ९ थान मोबाइल बरामद गरेको छ। नगद सटहीमा प्रयोग हुने ५० हजार लेखिएको क्वाईन ८ थान, १० हजार लेखिएको क्वाईन १९ थान, १ हजार लेखिएको क्वाईन ८८ थान र १०० लेखिएको क्वाईन ५ थान समेत नियन्त्रणमा लिइएको छ।

पक्राउ पर्नेहरूमा काठमाडौँको कागेश्वरी मनोहरा–४ बस्ने ३४ वर्षका बिकी लामा, बौद्ध बस्ने ३९ वर्षका नुवाड शेर्पा, गोकर्णेश्वर–९ बस्ने ३९ वर्षका पासाङ शेर्पा, कागेश्वरी मनोहरा–७ बस्ने ३२ वर्षका ज्योती मगर र बानेश्वर बस्ने ३५ वर्षका नारायण खत्री रहेका छन्।

त्यस्तै गोकर्णेश्वर–२ बस्ने ४४ वर्षका दिल लामा, ठमेल बस्ने ४४ वर्षका अशोक लामा, गोकर्णेश्वर–५ बस्ने ३२ वर्षका संजय तामाङ, ललितपुर महालक्ष्मी–३ बस्ने ४० वर्षका आषिश खड्का, ललितपुर–६ बस्ने ४९ वर्षका सविनमान श्रेष्ठ र पेप्सीकोला बस्ने ३० वर्षका सुदिप अधिकारी पनि नियन्त्रणमा परेका छन्।

पक्राउ परेकाहरूमाथि जुवा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट दुई दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार