सिफारिस

ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल,होर्मुजको वैकल्पिक मार्ग पनि बन्द

साउदी अरबले बिहीबार आफ्ना पम्पिङ स्टेसनहरूलाई लक्षित गरी भएका शृङ्खलाबद्ध ड्रोन आक्रमणहरूपछि १,२०० किलोमिटर लामो पूर्व-पश्चिम (इस्ट-वेस्ट) तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। इरान युद्धका कारण अन्तर्राष्ट्रिय रूपमा महत्त्वपूर्ण मानिएको होर्मुज स्ट्रेट जलमार्ग प्रभावित भएपछि साउदीले पूर्वी भागमा उत्पादित दैनिक करिब ५० लाख ब्यारेल कच्चा तेललाई सोही पाइपलाइनमार्फत पश्चिमी तटको यान्बु बन्दरगाहसम्म पुर्‍याएर निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयका अनुसार रियाद र मदिना क्षेत्रमा अवस्थित पम्पिङ स्टेसनहरूमा ड्रोन हमला हुँदा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। हालसम्म कुनै पनि पक्षले आक्रमणको औपचारिक जिम्मेवारी नलिए पनि ती ड्रोनहरू इराकको भूभागबाट प्रहार गरिएको साउदी विदेश मन्त्रालयको दाबी छ। इराकी प्रधानमन्त्रीको विशेष आग्रहमा साउदीले तत्काल जवाफी कारबाही नगर्ने निर्णय गरेको छ भने इराकले घटनाको गम्भीर अनुसन्धान गर्दै आफ्नो भूमि अन्य देशमाथि हमला गर्न प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको छ।

यस घटनाले जलमार्गसँगै भू-भागीय वैकल्पिक इन्धन आपूर्ति प्रणालीलाई समेत प्रत्यक्ष जोखिममा धकेलिदिएको छ। होर्मुज बन्द भएपछि इस्ट-वेस्ट पाइपलाइनमार्फत यान्बु पुर्‍याइने तेललाई लाल सागर हुँदै अन्तर्राष्ट्रिय बजारमा पठाइने गरिएकोमा अब सो क्षेत्रमा पनि सुरक्षा सङ्कट चुलिएको छ। यमनका हुथी विद्रोहीहरूले बाब अल-मन्डेब जलमार्ग क्षेत्रको रणनीतिक स्थान (पेरिम टापु) माथि नियन्त्रण कायम गरेको दाबी गर्दै साउदी तेल बोकेका जहाजहरूलाई सो मार्ग भएर जान नदिने चेतावनी दिएका छन्। एसिया र युरोप जोड्ने यो महत्त्वपूर्ण व्यापारिक मार्ग हुथीहरूको नियन्त्रण र साउदीको प्रमुख पाइपलाइन बन्द भएसँगै विश्वव्यापी इन्धन आपूर्ति थप प्रभावित हुने र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि आउने चिन्ता व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?