सिफारिस

एसीसी पुरुष प्रिमियर कप २०२६ फाइनल: नेपालको ऐतिहासिक जित, यूएईलाई पराजित गर्दै रच्यो इतिहास!

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी पुरुष प्रिमियर कप २०२६ को सनसनीखेज र रोमान्चक फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) माथि ४४ रनको उत्कृष्ट जित दर्ता गर्दै उपाधि आफ्नो नाम गरेको छ। मलेसियाको बायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रनको विशाल योगफल तयार पारेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले १०६ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै १०२ रनको सानदार शतकीय पारि खेलेका थिए भने मध्यक्रममा गुल्शन झाले मात्र ३८ बलमा ५२ रनको विष्फोटक अर्धशतक जोडे। साथै अर्जुन कुमाल (४३ रन) र कप्तान रोहित पौडेल (४० रन) ले टोलीलाई मजबुत स्थितिमा पुर्‍याए, जहाँ यूएईका अबरार शाह अहमदले ४ विकेट लिएका थिए।
३१४ रनको ठुलो लक्ष्य पछ्याउन मैदान उत्रिएको यूएईको टोली निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६९ रनमा सीमित हुन पुग्यो। यूएईका लागि राहुल चोपडाले १०५ बलमा १०० रनको शतकीय पारि खेले भने सोहैब खानले ५२ रन र तनिष सुरीले ४२ रन जोडे तापनि टोलीलाई जित दिलाउन सकेनन्। नेपालका बलरहरूले सुरुवातदेखि नै कसिलो र आक्रामक बलिङ गर्दै यूएईमाथि दबाब बनाएका थिए, जसमा करण केसीले घातक बलिङ गर्दै ३ विकेट चट्काए भने ललित राजवंशीले २ विकेट लिए। साथै गुल्शन झा, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दीप लामिछानेले १-१ विकेट लिँदै नेपालको जित पक्का गरे। यो ऐतिहासिक जितसँगै नेपाली क्रिकेट टोलीले एसियाली महाद्वीपमा आफ्नो दबदबा पुनः कायम राख्दै समर्थकहरूलाई खुसीको क्षण प्रदान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?