धनगढी । कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले अस्पताल सञ्चालनका लागि १५१ जना कर्मचारी माग गरेको छ ।
विश्वविद्यालयले शुक्रबार सूचना प्रकाशित गर्दै विभिन्न १३ पदमा करार सेवामा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । यसै शैक्षिक वर्षदेखि अध्यापन सुरु गर्ने तयारीमा रहेको विश्वविद्यालयले सञ्चालनमा रहेको अस्पतालका लागि स्वास्थ्य सेवातर्फका जनशक्ति माग गरेको जनाएको छ ।
विश्वविद्यालयले मेडिकल अधिकृत (एमबीबीएस) १०, डेन्टल सर्जन ४, बायोमेडिकल इन्जिनियर १, नर्सिङ अधिकृत १०, रेडियोग्राफी अधिकृत १, फार्मेसी अधिकृत २ र फिजियोथेरापी अधिकृत २ जना माग गरेको छ ।
त्यस्तै, ल्याब टेक्नोलोजिस्ट ३, स्टाफ नर्स ९०, ल्याब टेक्निसियन १०, रेडियोग्राफर ६, फिजियोथेरापी सहायक २ र फार्मेसी सहायक १० जनाका लागि पनि दरखास्त आह्वान गरिएको छ ।
विश्वविद्यालयले अस्पतालको सेवा विस्तार तथा शैक्षिक कार्यक्रम सञ्चालनलाई लक्षित गर्दै आवश्यक जनशक्ति व्यवस्थापनको प्रक्रिया अघि बढाएको हो ।