सिफारिस

भोटेकोशी बाढीपीडितका लागि केजी अस्पतालको १२ लाखभन्दा बढी सहयोग

धनगढी । धनगढीस्थित केजी अस्पतालले आफ्नो एक साताको सम्पूर्ण आम्दानीसहित १२ लाख २ हजार ७७४ रुपैयाँ भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि सहयोग गरेको छ।

अस्पतालले भदौ ११ देखि १७ गतेसम्मको आम्दानी ११ लाख ५१ हजार ६६३ रुपैयाँ र कर्मचारीका तर्फबाट ५१ हजार १११ रुपैयाँ गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

केजी अस्पतालका सहायक प्रबन्ध निर्देशक बसन्त अवस्थीका अनुसार विपद्मा परेका नागरिकलाई राहत, खाद्यान्न, आपतकालीन स्वास्थ्य सेवा तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको हो।

अस्पतालका चिकित्सक, नर्सिङ, प्रशासनिक तथा सहयोगी कर्मचारीले समेत स्वेच्छिक रूपमा सहयोग गरेका छन्। साथै, बाढी प्रभावित क्षेत्रमा प्रारम्भिक स्वास्थ्य सेवा पुर्‍याउन स्वयंसेवक स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।

अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत विगतमा कोभिड–१९ महामारीका समयमा समेत अतिरिक्त शुल्क नलिई सेवा प्रदान गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार