सिफारिस

मन्दिरको गेट तथा सत्संग हल निर्माणार्थ धनगढीमा ‘श्री दुर्गा श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ–२०८३’ आयोजना हुने

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–३, बोराडाँडीस्थित मन्दिर परिसरमा ‘श्री दुर्गा श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ–२०८३’ आयोजना हुने भएको छ। श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर मन्दिरको मुख्य प्रवेशद्वार (गेट) तथा सत्संग हल निर्माणका लागि आवश्यक सहयोग जुटाउने पवित्र उद्देश्यका साथ यो महायज्ञ आयोजना गर्न लागिएको हो। महायज्ञ आगामी २०८३ साल भदौ १६ गतेदेखि २२ गतेसम्म सञ्चालन भई २३ गते भव्य भण्डारासहित समापन हुनेछ। कार्यक्रममा नेपाली भाषाका सुप्रसिद्ध कथावाचक श्री अच्युत शरण महाराजज्यु (विठ्ठल) बाट श्रीमद्भागवत कथा वाचन तथा दिव्य धार्मिक प्रवचन प्रस्तुत गरिने आयोजक समितिले जनाएको छ।

महायज्ञ अवधिभर श्रद्धालु भक्तजन तथा दाताहरूका लागि तुलादान, भूमिदान, गौदान, पितृपूजा, प्रसाद वितरण, विशेष पूजा, व्रतबन्ध तथा विवाह जस्ता विभिन्न धार्मिक अनुष्ठानको प्रबन्ध मिलाइएको छ। जसअनुसार प्रसाद वितरण र विशेष पूजाका लागि प्रतिपरिवार रु. २,१००, व्रतबन्ध एवं विवाहका लागि रु. ३,१०० तथा अक्षताङ्कितका लागि रु. २,१०० सहयोग राशि तोकिएको छ। धार्मिक अनुष्ठानसँगै दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म श्रीमद्भागवतको पाठपरायण, पूजाअर्चना र १००८ शालिग्राम परिक्रमा सञ्चालन हुनेछ। त्यसैगरी दिउँसो १२ बजेदेखि ४ बजेसम्म कथा प्रवचन, राष्ट्रिय कलाकारहरूद्वारा भजन–कीर्तन, दिव्य झाँकी प्रदर्शनी, आरती, पूजाञ्जली तथा प्रसाद वितरण गरिनेछ भने साँझ ५ बजेदेखि ६ बजेसम्म बाल संस्कार अभियान तथा समीक्षा कक्षा सञ्चालन हुनेछ। रात्रिकालीन समयमा साँझ ७:३० बजेदेखि १०:३० बजेसम्म भागवत चर्चा, शिव चर्चा, कथा प्रवचन र भजन–कीर्तनका साथै झाँकी प्रदर्शन रहनेछ।

महायज्ञलाई भव्य रूपमा सफल पार्न र मन्दिर निर्माणमा योगदान पुर्याउने दाताहरूलाई सहयोग राशिका आधारमा सम्मान गर्ने व्यवस्था मिलाइएको छ। रु. १ देखि ९९ सम्मका दातालाई रसिद, रु. १०१ देखि ९९९ सम्म सहयोग गर्नेलाई सम्मानपत्र र रु. १,००० देखि ४,९९९ सम्म सहयोग गर्नेलाई सम्मानपत्रका साथै रामनामी प्रदान गरिनेछ। त्यसैगरी रु. ५,००० देखि ९,९९९ सम्मका दातालाई विशेष सम्मान तथा रु. १०,००० देखि ९९,९९९ सम्म सहयोग गर्ने भक्तजनहरूको नाम शिलालेखमा लेखिनुका साथै विशेष सम्मानपत्र प्रदान गरिनेछ। रु. १ लाखदेखि ४,९९,९९९ सम्म सहयोग गर्ने दाताहरूलाई एफएम तथा पत्रपत्रिकामा नामसहित नगर परिक्रमा, चुनको जलप्रसाद, प्रेमपत्र र दोसल्ला ओढाएर उच्च सम्मान गरिनेछ भने रु. ५ लाखभन्दा माथि सहयोग गर्ने महादाताहरूका लागि विशेष सम्मानको व्यवस्था गरिएको छ। मूल आयोजक समितिले सम्पूर्ण धर्मप्रेमी, दाता तथा श्रद्धालुहरूलाई उपस्थित भई महायज्ञको धार्मिक लाभ लिन हार्दिक निमन्त्रणा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार