सिफारिस

विपत्तिअघिको सूचना आदान–प्रदानमा ‘अब्बल’ कोशी ब्यारेज

कोशी ब्यारेज (सप्तरी) — पूर्वी पहाडी जिल्लामा भारी वर्षा भएपछि सप्तकोशी नदीको त्रिवेणी संगमस्थलबाट आएको पानी कोशी ब्यारेजसम्म पुग्न कम्तीमा १० घण्टा लाग्छ । सुनसरीको बराहक्षेत्रबाट कोशीको बहाव ब्यारेजसम्म आइपुग्न करिब ६ घण्टा लाग्छ । यो समयावधिले कोशीमा बाढीको सम्भावित अवस्था आँकलन गर्न र तटीय क्षेत्रमा पूर्वसूचना प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

बराह क्षेत्रमा मापन हुने कोशी नदीको अनुमानित क्युबिक फिट प्रतिसेकेन्ड (क्युसेक) बहावका आधारमा कोसी ब्यारेजमा पानी बहावको गति र उचाइको अनुमान सहजै गर्छन् । नेपाल-भारतबीचको संयुक्त पूर्वसूचना तथा पूर्वानुमान प्रणालीका कारण यस्तो सूचना संकलन, विश्लेषण र आदानप्रदान सहज बनेको हो ।

कोशी सम्झौताअनुसार कोशी नदीको मर्मत-सम्भारसँगै कोशी ब्यारेजको नियन्त्रण कक्षको जिम्मेवारी पनि भारतको कोशी योजना, बिहार सरकारअन्तर्गत रहेको छ । सोहीअनुसार भारतले सुनसरीको बराहक्षेत्रसहित कोशी नदीका विभिन्न स्थानमा पानीको गहिराइ, सतह र बहाव मापन गर्ने उपकरण जडान गरेको छ । यस्तै प्रविधि कोशी ब्यारेजमा समेत प्रयोग गरिएको छ ।

बराहक्षेत्रबाट करिब ८ किलोमिटर पूर्वतर्फ अरुण, सुनकोशी र तामाकोशी नदी एकआपसमा मिसिएर सप्तकोशी बनेका छन् । यही स्थानलाई त्रिवेणी संगमस्थल भनिन्छ । त्यहाँ पनि नदीको बहाव मापनका लागि नेपाल सरकारले उपकरण जडान गरेको छ । यसबाट माथिल्लो तटीय क्षेत्रमा नदीको बहाव बढ्न थालेको अवस्था तत्कालै पहिचान गर्न सहयोग पुग्छ ।

‘कञ्चनजंघा पर्वत शृङ्खला सप्तकोशीका विभिन्न सहायक नदीहरूको जलाधार क्षेत्रसँग जोडिएको छ । कोशीमा बाढी आउन सक्ने अवस्था अनुमान गर्दा हिमपात, बादल र वर्षाको अवस्थालाई समेत आधार मानिन्छ,’ कोशी योजना वीरपुर, बिहारका प्रमुख अभियन्ता (चिफ इन्जिनियर) संजीव शैलेशले कान्तिपुरसँग भने, ‘कोसी नदी क्षेत्र र आसपासको आकाशमा बादलको अवस्था कस्तो छ, कति वर्षा हुन सक्छ तथा १० दिनमा हुने वर्षा एक–दुई दिनमै हुन सक्ने अवस्थाजस्ता विषयको निरन्तर अध्ययन र पूर्वानुमान गरिरहेका हुन्छौँ । यसका लागि हाम्रा विभिन्न शाखाहरू सक्रिय रहन्छन्।’

नेपाल–भारतका प्रशासनिक अधिकारी र भारतीय अधिकारी सम्मिलित ह्वाट्सएप समूहमा कोशी ब्यारेजको बहाव, ढोकाको अवस्था लगायतका सूचना हरेक घण्टा आदानप्रदान हुन्छ ।उनका अनुसार नदीको बहावको पूर्वानुमानसँगै बराहक्षेत्रबाट ब्यारेजसम्म पानी आइपुग्न लाग्ने करिब ६ घण्टाको समय पनि पूर्वसूचना प्रणालीका लागि महत्वपूर्ण हुन्छ  । ‘बराहक्षेत्रबाट कोशीको बहाव ब्यारेजसम्म आइपुग्न लाग्ने समय हामीलाई थाहा हुन्छ । यही अवधिमा नेपाल र भारत दुवैतर्फका तटीय क्षेत्रका बासिन्दा तथा प्रशासनलाई आवश्यक सूचना दिने गरेका छौं,’ प्रमुख अभियन्ता शैलेशले भने ।

सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले पनि कोशी नदीमा बाढीको जोखिम देखिएमा भारतीय अधिकारीसँगको समन्वयमा पूर्वसूचना आदानप्रदान हुँदै आएको बताए । ‘कोशीका भारतीय अधिकारीसँगै नेपाल र भारत दुवै देशका प्रशासनिक अधिकारी सम्मिलित ह्वाट्सएप समूह छ । त्यसमा प्रत्येक घण्टा कोशी ब्यारेजको बहाव, ढोकाको अवस्था तथा अन्य आवश्यक जानकारी आउने गर्छ,’ यादवले भने, ‘यसका अतिरिक्त बराहक्षेत्र र तटीय क्षेत्रमा नेपालतर्फबाट एकल तथा दुई देशीय स्थलगत अनुगमनसमेत हुने गरेको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?