रौतहट । गत १० गते बुधवार बिहान भोटेकोशीमा आएको महाविनाशकारी बाढीले सयौँ परिवारको खुसी खोसेको छ। कसैको घर बगाएको छ, कोही आफन्तविहीन भएका छन् । कोही घाइते छन्, कोही व्यापार–व्यवसाय गुमाएर बेसहारा बनेका छन्। बाढीले हिमालदेखि पहाडसम्म पुर्याएको यो पीडाले अहिले सिंगो देशलाई भावुक बनाएको छ।
यही पीडामा मल्हम लगाउन प्रधानमन्त्रीद्वारा राहत कोष स्थापना गरी देशभरबाट सहयोग जुटाउने अभियान अघि बढिरहेका बेला रौतहटको एक विद्यालयका शिक्षक र विद्यार्थीले देखाएको मानवीय भावना अहिले चर्चाको विषय बनेको छ।
घटनाको भोलिपल्ट गत बिहीबार देवाही गोनाही नगरपालिका ७ स्थीत माबी प्रेमपुर गोनाही विद्यालय खुलेपछि शिक्षकहरूबिच बाढीपीडितका लागि सहयोग गर्ने विषयमा छलफल भयो। छलफलमा विद्यालयका प्रधानाध्यापक मुकेश कुमार यादवले एउटा कुरा सबैका सामु राखे— ‘हिमाल, पहाड वा तराई जहाँको भए पनि हामी नेपाली हौँ। नेपालीलाई दुःख पर्दा हामी सबै एक ठाउँमा उभिनुपर्छ।’
प्रधानाध्यापक यादवको यही भनाइले शिक्षकहरूलाई भावुक बनायो। त्यसपछि विद्यालयमा कार्यरत १९ जना शिक्षकमध्ये १४ जना शिक्षकले आफ्नो इच्छाअनुसार सहयोग रकम जुटाए। कसैले १ हजार, कसैले १ हजार ५ सय त कसैले २ हजार रुपैयाँसम्म आफ्नै स्वेच्छाले जम्मा गरे।
तर, मानवीयताको यो कथा त्यतिमै रोकिएन।
शिक्षकहरूले कक्षाकोठामा पुगेर विद्यार्थीलाई भोटेकोशी बाढीले निम्त्याएको पीडा सुनाए। विपत्तिमा परेका आफ्नै दाजुभाइ–दिदीबहिनी सम्झेर सहयोग गर्न आग्रह गरे।
शिक्षकहरूको कुरा सुनेपछि कक्षा ९ मा अध्ययनरत २६ जना विद्यार्थीले आफूले खाजा खान ल्याएको पैसाबाटै केही रकम छुट्याए। कसैले १० रुपैयाँ दिए, कसैले २० रुपैयाँ त कसैले ५० रुपैयाँ। सानो–सानो रकम जोडिँदै जाँदा ४७० रुपैयाँ जम्मा भयो।
त्यो ४७० रुपैयाँ रकमका पछाडि ठूलो भावना थियो— आफूले खाजा खान खर्च गर्ने पैसामध्ये केही कटाएर भए पनि बाढीपीडितको आँसु पुछ्ने प्रयास।
त्यस्तै कक्षा ११ का विद्यार्थीहरूले पनि खाजा खान ल्याएको पैसाबाट केही रकम कटौती गरेर ४०० रुपैयाँ राहत कोषमा जम्मा गरे। रकम सानो देखिएला, तर भावना निकै ठूलो थियो।
विद्यालयका प्रधानाध्यापक यादवका अनुसार शिक्षक र विद्यार्थीलाई सहयोगका लागि प्रेरित गर्न विद्यालयमै कार्यरत निमावि शिक्षक निरञ्जन यादवको अग्रणी भूमिका रहेको थियो।
विद्यार्थीहरूले जम्मा गरेको रकमको विवरणसहितको सूची कसैले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेपछि यो विषय अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। हजारौँ मानिसले उक्त पोस्ट शेयर गर्दै विद्यार्थी तथा शिक्षकहरूको मानवीय भावनाको प्रशंसा गरिरहेका छन्।
कतिपयले ठूलो रकम सहयोग गर्न नसके पनि ‘दुःखमा साथ दिन रकमको आकार होइन, मन ठूलो हुनुपर्छ’ भन्ने सन्देश विद्यार्थीहरूले दिएको बताएका छन्।
साँच्चै, विपत्तिमा कसैले करोडौँ रुपैयाँ सहयोग गर्छन्, कसैले लाखौँ। तर, खाजा खान बोकेको पैसाबाट १० रुपैयाँ, २० रुपैयाँ र ५० रुपैयाँ छुट्याएर पीडितका लागि सहयोग गर्ने यी बालमनको योगदानलाई पैसाले मात्र नाप्न सकिँदैन।
किनकि ती विद्यार्थीले राहत कोषमा केवल रुपैयाँ जम्मा गरेका छैनन्–उनीहरूले पीडित परिवारका लागि आफ्नो सानो खुसी त्यागेर मानवताको ठूलो उदाहरण दिएका छन्।
भोटेकोशीको बाढीले घर बगाएको होला, सम्पत्ति बगाएको होला, तर यस्ता साना–साना सहयोगका हातहरूले भने नेपाली समाजमा अझै मानवता जीवितै रहेको प्रमाण दिएका छन्।