राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भोटेकोसी बाढीले बगाएर ल्याएको शवबाट सुन झिक्नेहरूमाथि कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । बिहीबार सर्वदलीय बैठकपछि उनले गृहमन्त्री सुधन गुरुङसमक्ष कारबाही गर्न माग गरिएको बताए ।
‘यहाँ यत्रो विपद् भइराखेको छ । केही नेपाली दाजुभाइ–दिदीबहिनीहरूको जुन व्यवहार अहिले देखिएको छ, व्यक्तिगत फाइदाका लागि लासलाई सम्म नछोड्ने, गृहमन्त्रीलाई मैले अपिल गरेको छु भिडिओमा जोजो देखिएका छन् कारबाही गर्नुस् । हामी नेपालीको इमेज अन्तर्राष्ट्रिय जगतमा बेइज्जत गर्नुपर्ने कारण छैन,’ उनले भने ।
शाहीले संकटको बेलामा आफूहरू सरकारको साथमा रहेको बताए । ‘हामीले गर्नुपर्ने काम राष्ट्रिय ऐक्यबद्धता गरेका छौँ, सरकारको साथमा छौँ । यहाँ कुनै दल छैन, कुनै पार्टी छैन, कुनै व्यक्ति छैन, कुनै समूह छैन । यहाँ नेपाल छ र हामी नेपाली छौँ,’ उनले भने ।