अर्घाखाँचीमा कानुनबमोजिम वन्यजन्तुको सिकार गर्न चाहने नागरिकका लागि सिकार अनुज्ञापत्र (लाइसेन्स) को आवेदन खुला गरिएको छ। डिभिजन वन कार्यालय, अर्घाखाँचीले सार्वजनिक सूचना जारी गर्दै इच्छुक नागरिकलाई भदौ १० गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन आह्वान गरेको हो।
वन्यजन्तुबाट हुने कृषिबाली तथा मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र नियमावली, २०३० अनुसार राते मृग, चित्तल र बँदेलको सिकारका लागि अनुमति दिन लागिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले जानकारी दिए।
न क्षेत्र आसपासका बस्तीमा वन्यजन्तुले बालीनाली र पशुचौपायामा पुर्याउने क्षति रोक्न कानुनको दायराभित्र रहेर यो कदम चालिएको डिभिजन वन प्रमुख नारायण देव भट्टराईले बताए। प्राप्त आवेदन र कागजातको विस्तृत छानबिन पछि मात्र अनुज्ञापत्र प्रदान गरिनेछ।
बिना अनुमति सिकार गर्नु पूर्ण रूपमा गैरकानुनी हुने भएकाले अवैध ओसारपसार र चोरी-सिकारी रोक्न वन कार्यालय तथा सुरक्षा निकायले निगरानी समेत बढाएका छन्।