नेपालको एकमात्र वैधानिक सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा गत आर्थिक वर्षमा २१ वटा नाउर र ११ वटा हिमाली झारलको सिकार गरिएको छ। यस सिकार अनुमतिपत्र (पर्मिट) बिक्रीबाट सरकारले रु ४ करोड १७ लाखभन्दा बढी राजस्व संकलन गरेको छ।
सामान्यतया अमेरिका, स्पेन, नेदरल्याण्ड्स र मेक्सिकोका सिकारीहरू सिकारका लागि ढोरपाटन पुग्ने गर्छन्। १५ दिने एक सिकार यात्राको लागत रु २० लाखदेखि ३५ लाखसम्म पर्ने गर्छ, जसभित्र हेलिकप्टर यातायात, गाइड र अन्य व्यवस्थापन समावेश हुन्छ। सिकार यात्राभरि नेपाली सेना र आरक्षका कर्मचारीहरू सिकारीहरूसँगै खटिने गर्छन्।