सिफारिस

महाधिवेशन भएको दुई महिना बितिसक्दा पनि भएन रास्वपा मधेसको अधिवेशन

काठमाडौँ । दसैँ अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को मधेस प्रदेश अधिवेशन नहुने भएको छ । निर्वाचित सांसदहरूको दबाब र जातीय विवादका कारण स्थगित भएको अधिवेशन महाधिवेशन महाधिवेशन सम्पन्न भएको दुई महिना पुगिसक्दा पनि केन्द्रीय निर्वाचन आयोगले तयारी थालेको छैन ।

मधेस प्रदेशको अवस्था फरक भएकाले दसैँ अगाडि प्रदेश र जिल्ला अधिवेशन नहुने केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले जानकारी दिए ।
‘मधेसमा स्थगित अधिवेशन गराउनका लागि पार्टी नेतृत्वसँग छलफल भइराखेको छ । दसैँ अगाडिसम्म अधिवेशन गराउने पक्षमा छौँ । अझै दुई महिना समय छ । तर अहिलेसम्म सञ्चार माध्यममा सूचना दिने गरी ठोस निर्णय भइसको छैन’, गुरुङले भने ।

आयोगले जेठ २६ गते एक सूचना जारी गर्दै अधिवेशनको निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत सञ्चालन सुनिश्चित गर्न आवश्यक देखिएकाले मधेस अधिवेशनको सम्पूर्ण गतिविधि स्थगित गरिएको जानकारी दिएको थियो । पार्टीका दुई पक्षबिच विवाद बढ्दै जाँदा स्थिति काबु बाहिर पुग्ने देखिएपछि पार्टी सभापति रवि लामिछानेले असार ३ गते मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरू र नेताहरूसँग छलफल गरेका थिए । मधेसका विवाद मिलाएर आफ्नै पहलमा अधिवेशन गराउने आश्वासन दिएका कारण विवाद मत्थर भएको थियो ।

मधेसका ८ जिल्लामध्ये पर्सामा मात्र अधिवेशन सम्पन्न भएको छ । पर्सा–१ बाट निर्वाचित सांसद बुद्धिप्रसाद पन्तको सक्रिय पहलकदमीका कारण पर्सामा अधिवेशन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो । पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । यद्यपि पर्सामा पनि विवाद र झडपका घटना भएका थिए । मधेसमा संस्थापक नेताहरू र संघीय संसद्मा निर्वाचित सांसदहरूको हस्तक्षेपका कारण दसैँ अगाडि पनि अधिवेशन हुनेमा शङ्का व्यक्त गरेका छन् ।

‘यहाँ अधिवेशन गराउन निकै कठिन छ । संस्थापक नेताहरू र संघीय सांसदहरूको ठाडो हस्तक्षेप छ । सक्रिय जातीय समूह र नेतृत्वको सङ्कीर्णताका कारण दसैँ अगाडि अधिवेशन हुन्छ जस्तो मलाई लाग्दैन’, ती नेताले भने ।

रास्वपाले मधेस बाहेक अन्य ६ वटा प्रदेशमा अधिवेशन सम्पन्न गरिसकेको छ । असार ७ देखि १२ गतेसम्म प्रथम केन्द्रीय महाधिवेशन चितवनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार