धनगढी । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान, धनगढीले नेपाली सङ्गीत क्षेत्रमा निरन्तर समर्पित भई पुर्याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै गायक तथा सङ्गीतकार बसन्त साधकलाई ‘स्रष्टा सम्मान–२०८२’ प्रदान गरी सम्मानित गरेको छ।
प्रतिष्ठानद्वारा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा आयोजित विशेष समारोहमा बसन्त साधकलाई सम्मान–पत्रसहित सम्मान प्रदान गरिएको हो। सम्मान–पत्रमा उहाँले लामो समयदेखि भाषा, साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा सक्रिय रहँदै विशेषगरी सङ्गीत साधना, सृजनात्मक योगदान तथा सामाजिक गतिविधिमार्फत समाजमा उल्लेखनीय योगदान पुर्याएको उल्लेख गरिएको छ।
कार्यक्रमका सभापति सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपाल रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री माननीय बेलबहादुर राना मगर रहनुभएको थियो। कार्यक्रममा साहित्यकार, कलाकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सम्मान ग्रहणपछि गायक तथा सङ्गीतकार बसन्त साधकले प्राप्त सम्मानले आफूलाई अझ जिम्मेवार बनाएको बताउँदै नेपाली भाषा, कला, संस्कृति तथा सङ्गीतको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।