काठमाडौं । प्रतिनिधिसभाको अवरोधका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । मंगलबार दिउँसो एक घण्टा छलफल भएको हो ।
विपक्षी दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफ्नो अभिव्यक्ति फिर्ताका लागि रुलिङ गर्नुपर्ने धारणा राखेका छन् । उनीहरूले सीमासम्बन्धी प्रधानमन्त्रीको भनाइ रेकर्डबाट नहटाएसम्म सदनमा अवरोध जारी राख्ने बताएका छन् ।
“सबै दलका प्रतिनिधिले प्रधानमन्त्रीको सीमाबारेको भनाइ फिर्ता लिन सभामुखले रुलिङ गर्नुपर्ने, प्रधानमन्त्रीको भनाइ रेकर्डबाट हटाउनुपर्ने अडान राखेका छौँ । सरकार पक्षबाट जवाफ आएन,” नेकपाका प्रमुख सचेतक युवराज दुलालले भने ।
प्रधानमन्त्रीले आइतबार प्रतिनिधिसभा बैठकमा सीमा विवादबारे जवाफ दिँदा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भनेका थिए । सो विषयमा विपक्षीले प्रधानमन्त्रीले तथ्य प्रस्तुत गर्नुपर्ने, संसद्मा आएर माफी माग्नुपर्ने अडान राखेपछि सोमबार बैठक चल्न सकेन । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुरु हुन सकेको छैन ।