काठमाडौँ । सरकारले जथाभावी शुल्क नलिन कडाइ गरिरहेको भनिएका बेला राजधानी काठमाडौँकै एक प्रतिष्ठित निजी विद्यालयमाथि तोकिएको भन्दा बढी शुल्क लिएको आरोप लागेको छ । तीनकुनेस्थित विनायक सुधा (भीएस) निकेतन माध्यमिक विद्यालयले पढाइ नभएको महिनाको समेत बिल बनाएर रकम लिएको अभिभावकहरूले गुनासो गरेका छन् ।
कक्षा शुरु भएको महिना दिन नपुग्दै ५३ हजार ६९५ रूपैयाँको बिल पठाएपछि आफू आश्चर्यचकित परेको एक अभिभावक बताउँछन् । विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्रअघि नै लिएको रकम फर्काउन र तोकिएको मापदण्ड विपरित रकम नलिन विद्यालयहरूलाई कडा निर्देशन दिएको थियो । तर, उक्त स्कुलले वैशाख र जेठ महिनाको एकमुष्ट बिल पठाएको पाइएको छ । वैशाखमा १५ दिन पनि कक्षा सञ्चालन भएको छैन भने जेठको महिना मर्न बाँकी नै छ ।
कक्षा ९ मा अध्ययनरत एक छात्रका अभिभावकले भनेअनुसार बिलमा ‘कम्प्युटर फि’ बापत दुई हजार दुई सय, ‘मर्निङ कोचिङ’ को एक हजार तीन सय र ‘ट्युसन फि’ अन्तर्गत १९ हजार ५१० रूपैयाँ लगाइएको छ । ‘प्रिभियस फी’ भनेर छुट्टै ३० हजार ६८५ रूपैयाँ पनि मागिएको छ ।
अघिल्लो वर्षको सबै शुल्क तिरिसकेको अवस्थामा ‘प्रिभियस फी’ भन्दै ३० हजारको बिल पठाएपछि अभिभावकहरू नियामक निकाय गुहार्ने तयारीमा छन् । उनै अभिभावक भन्छन्, ‘कक्षा सञ्चालनको २० दिनमै यत्रो पैसा तिर भनेर बिल पठाएको छ । प्रिभियस फीको नाममा ३० हजार बढी शुल्क उठाउन खोजिएको छ । त्यो भनेको के हो ? अघिल्लो वर्षको फि त अघिल्लो वर्ष नै चुक्ता गरेका छौं ।’
त्यस्तै, स्कुलले कम्प्युटरका नाममा २२ सय रूपैयाँ असुले पनि कम्प्युटर क्लास नाम मात्रको भएको गुनासो अभिभावकहरूको छ । यसबारे जिज्ञासा राख्दा उपप्रधानाध्यापक वन्दना लामाले बढी शुल्क लिएको स्वीकार गरिन्, तर लेखा शाखाको कमजोरीका कारण प्राविधिक कमजोरी हुन पुगेको उनको दावी छ । विद्यालयले नियमभन्दा बढी शुल्क नलिएको जिकिर गर्दै भनिन्, ‘त्यो मिस्टेक भएको रहेछ । हामीले सच्याइसकेका छौं ।’
लामाका अनुसार कोचिङ र ट्युसन फि पनि ११ महिनाको मात्र लिने गरिएको छ । भन्छिन्, ‘हामीले सरकारको नियमभन्दा बढी लिएका छैनौं । सरकारले १४ वटा शीर्षकमा शुल्क लिन पाउने भनेको छ, त्यसमा मात्रै लिन्छौं ।’