सिफारिस

सुदूरपश्चिममा लागूऔषधविरुद्ध प्रहरीको कडा अभियान : खैरो हेरोइन, गाँजा र चरेशसहित ८ जना पक्राउ

धनगढी । सुदूरपश्चिम प्रदेशका तीन जिल्लाबाट विभिन्न प्रकारका लागूऔषधसहित आठ जना पक्राउ परेका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार कैलाली, कञ्चनपुर र दार्चुलामा सञ्चालन गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा गाँजा, खैरो हेरोइनजस्तो पदार्थ र चरेश बरामद गरिएको हो।

प्रहरीका अनुसार कैलालीबाट पाँच जना पक्राउ परेका छन्। लम्कीचुहा नगरपालिका–१ का २४ वर्षीय कमल चौधरीलाई २३० ग्राम गाँजासहित पक्राउ गरिएको हो। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीको टोलीले उनको घरमा खानतलासी गर्दा गाँजा फेला पारेको जनाएको छ।

त्यसैगरी टिकापुर नगरपालिका–९ खक्रौलाबाट ३१ वर्षीय दिनेश शाहीलाई ६३० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित पक्राउ गरिएको छ। सोही स्थानबाट २१ वर्षीय खकेन्द्र साउदलाई ३ ग्राम २० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ, नाइट्रोजाम ३ क्याप्सुल र स्पाजाम ८ क्याप्सुलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

भजनी नगरपालिका–६ विस्नापुर क्षेत्रमा ३४० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित जानकी गाउँपालिका–४ का २० वर्षीय प्रासिस रावत तथा एक १८ वर्षीय किशोरलाई पनि प्रहरीले पक्राउ गरेको छ।

यस्तै, कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चन्देबाट बैतडीको पुर्चौडी नगरपालिका–८ का ३२ वर्षीय अर्जुन धानुक र पुनर्वास नगरपालिका–२ का २२ वर्षीय आशिष साउद पक्राउ परेका छन्। उनीहरूको साथबाट २३० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। उनीहरू सवार से ६ प ७५९ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

उता दार्चुलाको महाकाली नगरपालिका–४ बाङ्गाबगरबाट ३१ वर्षीय सन्तोष बर्मा सुनारलाई ११ ग्राम चरेशजस्तो पदार्थसहित पक्राउ गरिएको छ।

पक्राउ परेका सबैलाई सम्बन्धित प्रहरी कार्यालयको हिरासतमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार