सिफारिस

‘तेज’ तोरी तेल न्यूनस्तरको पाइयो, बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं, १४ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले रुपन्देहीस्थित सिद्धार्थ आयल इन्डस्ट्रिज द्वारा उत्पादन गरिएको ‘तेज’ ब्रान्डको तोरी तेल न्यूनस्तरको पाइएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।

विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको तेलको नमुना प्रयोगशालामा परीक्षण गर्दा सरकारले तोकेको अनिवार्य मापदण्ड पूरा नगरेको जनाएको हो। विभागका अनुसार आयातित तोरीबाट उत्पादन गरिएको उक्त तेलमा गुणस्तरसम्बन्धी कैफियत फेला परेको छ।

उक्त तेलको ब्याच नम्बर २० रहेको छ भने उत्पादन मिति २०८२ फागुन २८ र उपभोग्य मिति ६ महिना रहेको विभागले जनाएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) अनुसार विभागले उक्त ब्याचको सम्पूर्ण तेल बजारबाट तत्काल फिर्ता गर्न उत्पादक कम्पनीलाई निर्देशन दिएको हो।

विभागका अनुसार प्रयोगशाला विश्लेषणका क्रममा तेलका विभिन्न गुणस्तर सम्बन्धी मापदण्ड सरकारले तोकेको स्तरअनुसार नभेटिएकाले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।

यससँगै अब सम्बन्धित उत्पादकले बजारमा पठाइसकेको उक्त ब्याचको सबै तेल आफ्नै खर्चमा फिर्ता गर्नुपर्नेछ। विभागले उपभोक्तालाई पनि उक्त ब्याचको तेल प्रयोग नगर्न आग्रह गर्दै सचेत गराएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार