राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्। रास्वपाका एक पदाधिकारीले लामिछानेको भ्रमण निश्चित भएको पुष्टि गरेका छन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार लामिछानेको भारत भ्रमण जेठ १८ गते सुरु भएर असार २० गतेसम्म चल्नेछ। भ्रमणका लागि आवश्यक कूटनीतिक तथा अन्य तयारी भइरहेको जनाइएको छ।
फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभामा झन्डै दुई तिहाइ बहुमतसहित उदाएको रास्वपाका तर्फबाट पार्टी प्रमुखको हैसियतमा हुन लागेको यो पहिलो औपचारिक विदेश भ्रमण हो।
यसअघि भारतले बालेन्द्र शाह लाई समेत भ्रमणको निम्तो दिएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले टेलिफोनमार्फत बधाई दिँदै भारत भ्रमणको निम्तो दिएका थिए। तर हालसम्म बालेन्द्र शाह को भारत भ्रमण तय भएको छैन।
यता, प्रधानमन्त्रीको भ्रमण अघि नै रवि लामिछाने को भारत भ्रमण तय भएपछि त्यसलाई नेपाल–भारत सम्बन्ध र आन्तरिक राजनीतिसँग जोडेर चासोका साथ हेरिएको छ।