काठमाडौं, १० जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित ग्रान्ड प्यासिफिक होटलका सञ्चालक गोविन्द चन्दमाथि आक्रमण भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी वीरेन्द्र थापाका अनुसार शनिबार राति करिब ९ बजेतिर ५/६ जनाको समूह होटलमा प्रवेश गरी चन्दमाथि आक्रमण गरेको हो।
आक्रमणबाट घाइते भएका चन्द उपचारपछि डिस्चार्ज भइसकेका छन्। घटनाको सीसीटीभी फुटेज अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेको छ।
घटनामा संलग्न व्यक्तिहरू भने हालसम्म पक्राउ पर्न नसकेको प्रहरीले जनाएको छ। आक्रमणको वास्तविक कारण पक्राउपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ।