धनगढी । सुदूरपश्चिम प्रहरीले भारतमा चोरी गरिएको ठूलो मात्राको गरगहना र नगद बरामद गरेको छ । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले लामो अनुसन्धानपछि भारतको दिल्लीमा भएको चोरीको घटनामा सफलता हात पारेको हो ।
प्रहरीका अनुसार हिरा, मोती, सुनचाँदीका गरगहना, विभिन्न कम्पनीका घडी तथा नेपालसहित विभिन्न देशका मुद्रा गरी दुई करोड १० लाखभन्दा बढी मूल्य बराबरका सामान बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारतको दिल्लीस्थित राजेन्द्रनगर निवासी संजयकुमार माखीजाको घरमा फागुन १३ गते चोरी भएको थियो । अनुसन्धानका क्रममा माखीजाको घरमा काम गर्ने बाजुराको बुढीगंगा नगरपालिका–१० का उपेन्द्र रावतको समूहले चोरी गरेको खुलेपछि भारतीय प्रहरीमार्फत नेपाल प्रहरीमा उजुरी परेको थियो ।
उक्त सूचनाका आधारमा प्रहरीले उपेन्द्र रावतसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बाजुराको खप्तडछेडेदह गाउँपालिका–३ का लोकेश धामी र चोरी भएको धनमाल खरिद गर्ने अछामको साफेबगर नगरपालिका–४ का अर्जुन सुनार रहेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख ओमबहादुर राना का अनुसार पक्राउ परेकाहरुको साथबाट नेपाली रुपैयाँ एक करोड ३४ लाख बराबरका १२ वटा घडी, ४३ लाख ३३ हजार १४५ रुपैयाँ बराबरका सुनका गरगहना, १५ लाख ५६ हजार बराबरका हिरा तथा सुनका रिङ, दुई लाख १५ हजार ५३० रुपैयाँ बराबरका चाँदीका गरगहना र करिब तीन लाख बराबरको सुन बरामद गरिएको हो ।
यस्तै, १२ लाख ९० हजार नेपाली रुपैयाँ नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको नगद तथा विभिन्न देशका मुद्रा सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको छ ।
भारतीय दूतावासमार्फत नेपाली प्रतिनिधिसहित पीडित पक्ष शुक्रबार कैलाली पुगेर जिल्ला प्रहरी कार्यालयमार्फत बरामद सामान बुझेर फर्किएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।