काठमाडौं । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, संस्कृतिको संरक्षण, हाम्रो अभियान’ भन्ने मूल नारासहित राजधानीमा ‘घोंघी सांस्कृतिक साँझ २०८३’ आयोजना हुने भएको छ। घोंघी स्टेशन प्रा. लि. को आयोजनामा जेठ १५ गते काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा कार्यक्रम हुन लागेको हो।
थारु कला, संस्कृति तथा संगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको कार्यक्रममा थारु सांगीतिक क्षेत्रका चर्चित तथा उदयमान कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।
कार्यक्रममा राज कुस्मी, नरेश जोगी, अन्जु कुस्मी, सोनु कुस्मी, गणेश चौधरी, समीक्षा चौधरी, विजय चौधरी र विकास चौधरी ले आफ्ना चर्चित प्रस्तुति दिनेछन्।
त्यसैगरी रोनी चौधरी, दीपिका कुस्मी, सरोज सुनार, कविता चौधरी भट्टराई तथा सुमिना चौधरी को नृत्य आकर्षण रहनेछ। कार्यक्रमको उद्घोषण तथा गायन प्रस्तुति अनुप मगर ले गर्नेछन्।
दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने कार्यक्रमको टाइटल स्पोन्सर ‘चौधरी दाइको’ र प्रायोजक ‘चौधरी सेकुवा’ रहेका छन्। कार्यक्रममा जीए म्यूजिक र आर प्रोडक्सन एण्ड इन्टरटेनमेन्टले समेत सहकार्य गरेका छन्।
आयोजकका अनुसार काठमाडौंमा रहेका थारु समुदाय तथा नेपाली कला–संस्कृति प्रेमीहरूका लागि यो कार्यक्रम विशेष सांस्कृतिक उत्सवका रूपमा रहने विश्वास लिइएको छ।