धनगढी । गोपाल हमाल नेतृत्वको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा जडान गरिएका सडक बत्ती अब राति १० बजेसम्म मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ।
अत्यधिक गर्मीका कारण विद्युतको लोड अत्यधिक बढ्दै गएपछि ट्रान्सफर्मर जल्ने, फ्युज जाने तथा लाइन ट्रिप हुने समस्या बढ्दै गएको भन्दै उपमहानगरपालिकाले यस्तो निर्णय गरेको जनाएको छ।
मेयर हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शनिबारदेखि नगरभित्रका सडक बत्तीहरू राति १० बजेसम्म मात्र सञ्चालन गरिने बताएका हुन्। विद्युत आपूर्तिको अवस्थामा सुधार आएपछि सडक बत्ती पुनः नियमित रूपमा यथावत सञ्चालन गरिने पनि उनले उल्लेख गरेका छन्।