कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुरस्थित पूर्व–पश्चिम राजमार्गमा ईभी हाइस दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।
शुक्रबार राति करिब ९ः१० बजे नेपालगञ्जबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख ३८०६ नम्बरको ईभी हाइसको पछाडिको बायाँ टायर एक्कासी पड्किँदा सवारी अनियन्त्रित भई सडकको उत्तर किनारामा पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा हाइसमा सवार ८ यात्रुमध्ये ४ जना तथा सवारी धनी गरी ५ जना घाइते भएका हुन्। घाइते हुनेमा धनगढी उपमहानगरपालिका–१९ फुलबारीकी ३९ वर्षीया भागरथी चौधरी, सोही स्थानका ३२ वर्षीय नारायण चौधरी, ३८ वर्षीय जीवन चौधरी, धनगढी–१७ दीपनगरकी ३५ वर्षीया रेखा राना तथा धनगढी–४ उत्तर बेहडीका ३७ वर्षीय पदम सार्की रहेका छन्।
प्रहरीका अनुसार भागरथी चौधरीको ढाड र छातीमा चोट लागेको छ भने अन्य घाइतेहरुको अवस्था सामान्य रहेको छ। सबै घाइतेहरुको मसुरियास्थित न्यू साँझा सामुदायिक हेल्थ क्लिनिकमा उपचार भइरहेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मसुरियाबाट प्रहरी नायब निरीक्षक वीरबहादुर बिष्टको कमाण्डमा टोली खटिएको थियो। दुर्घटनाग्रस्त हाइस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनापछि राजमार्ग अवरुद्ध भने भएको छैन।