धनगढीस्थित माया मेट्रो हस्पिटल मा रोमानियाबाट परिवारसहित नेपाल भ्रमणमा आएकी एक बालिकाको सफल एपेन्डिसाइटिस शल्यक्रिया गरिएको छ।
युरोपको रोमानियाबाट परिवारसहित नेपाल भ्रमणमा आएकी ती बालिकाको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि माया मेट्रो हस्पिटल ल्याइएको अस्पतालले जनाएको छ। अस्पतालका विशेषज्ञ चिकित्सकको टोलीले चेकजाँच गर्दा बालिकामा एपेन्डिसाइटिस भएको पत्ता लागेको थियो। त्यसपछि विशेषज्ञ टोलीले सफल शल्यक्रिया गरी उपचार गरेको अस्पतालले जनाएको छ।
केही दिन अस्पतालमा उपचारपछि बालिका पूर्ण स्वास्थ्य लाभसहित मुस्कानका साथ डिस्चार्ज भएकी छन्। उपचारमा संलग्न बाल शल्य चिकित्सक डा. सुलोचना दाहाल, नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. मोहन साउद, एनेस्थेसियोलजिस्ट डा. मोहन भट्टराई र डा. ललित धामी लगायत सम्पूर्ण चिकित्सक टोलीप्रति परिवारले आभार व्यक्त गरेको अस्पतालले जनाएको छ।
उपचारपश्चात् परिवारले व्यक्त गरेको सन्तुष्टि, विश्वास र धन्यवादले अस्पतालको सम्पूर्ण टिमलाई अझ जिम्मेवार र उत्साहित बनाएको अस्पताल प्रशासनको भनाइ छ। बिरामीको स्वास्थ्य सुधारसँगै अनुहारमा देखिएको खुसी नै आफ्नो सेवाको सबैभन्दा ठूलो उपलब्धि भएको अस्पतालले जनाएको छ।
अस्पतालले सुरक्षित, गुणस्तरीय र मानवीय संवेदनासहितको स्वास्थ्य सेवा प्रदान गर्नु आफ्नो मुख्य प्रतिबद्धता रहेको उल्लेख गर्दै देश तथा विदेशबाट आउने बिरामीहरूको भरोसाको केन्द्र बन्न पाउनु गर्वको विषय भएको जनाएको छ।