धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित मित्रनगर क्षेत्रमा अवैध रूपमा उम्रिएको गाँजा नष्ट गर्न प्रहरी र स्थानीयवासी सक्रिय बनेका छन्। विशालनगर प्रहरी बिटको नेतृत्वमा सुरु गरिएको विशेष अभियानअन्तर्गत विभिन्न सार्वजनिक स्थानमा फैलिएको गाँजा धमाधम फडानी गरेर नष्ट गर्न थालिएको हो।
विशालनगर प्रहरी बिटका इन्चार्ज प्रहरी सहायक निरीक्षक खडक ऐरको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयको संयुक्त सहकार्यमा अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ। पछिल्लो समय खोलानाला किनार, सडक छेउ, खाली जग्गा तथा बस्ती आसपासका क्षेत्रमा गाँजा अत्यधिक फैलिन थालेपछि यसको नियन्त्रणका लागि अभियान थालिएको बताइएको छ।
स्थानीयवासीका अनुसार गाँजाका बोट बढ्दै जाँदा युवापुस्तामा गलत असर पर्ने, लागूऔषध दुर्व्यसन बढ्ने तथा समाजमा नकारात्मक गतिविधि फैलिने चिन्ता बढ्दै गएको थियो। त्यसपछि प्रहरी र समुदाय मिलेर गाँजा नष्ट अभियान अघि बढाइएको हो।
अभियानका क्रममा प्रहरी टोलीले विभिन्न स्थानमा उम्रिएका गाँजाका बोट उखेलेर नष्ट गर्नुका साथै स्थानीयलाई लागूऔषधविरुद्ध सचेतना समेत दिइरहेको जनाएको छ। प्रहरीका अनुसार समाजलाई सुरक्षित र लागूऔषधमुक्त बनाउन यस्ता अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ।
स्थानीयहरूले पनि प्रहरीको पहलको प्रशंसा गर्दै समुदायस्तरबाट समेत निगरानी बढाउने प्रतिबद्धता जनाएका छन्। मित्रनगर क्षेत्रमा सुरु भएको यो अभियानलाई लागूऔषध नियन्त्रणतर्फको प्रभावकारी कदमका रूपमा हेरिएको छ।