सिफारिस

रानीसैन नपुगी फर्कियो धनगढी उपमहानगरको भ्रमण टोली

हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियानअन्तर्गत बाजुराको रानीसैन गइरहेको कैलालीको धनगढी उपमहानगरपालिकाको भ्रमण टोली बाटोबाटै फिर्ता भएको छ ।

असुरक्षाको कारणले उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको ४० सदस्यीय भ्रमण टोली हिमाली गाउँपालिका–३ लाम्पाटबाट फिर्ता भएको हो । त्यहाँबाट रानीसैन पुग्न झण्डौ पाँच घण्टा लाग्छ ।

लाम्पाटामा प्रहरी चौकी निर्माणको विषयमा केही दिनदेखि विवाद हुँदै आएको छ । हुम्लाका नागरिकले चौकी निर्माणमा पटकपटक अवरोध गर्दै आएका छन् ।

मंगलबार उपमहानगरको भ्रमण टोली लाम्पाटा पुग्दा हुम्लाका स्थानीय हातपातमा उत्रिएपछि पाँच जना घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार सो क्रममा पाँच जना घाइते भएका थिए ।

बाजुराकै भूमिमा पर्ने लाम्पाटामा हुम्लावासीले प्रहरी चौकी निर्माण अवरोध गर्नुको कारण भने खुलेको छैन । स्थानीयका अनुसार उक्त क्षेत्र जडीबुटीका लागि प्रख्यात छ । प्रहरी चौकी स्थापना भएपछि जडीबुटी संकलनमा समस्या हुने डरले हुम्लावासीले चौकी निर्माणमा अवरोध गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार