धनगढी : बाजुरा र हुम्लाको सीमा क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर भएको झडपमा प्रहरीसहित पाँच जना घाइते भएका छन्।
मंगलबार बिहान बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटा क्षेत्रमा चौकी निर्माणको विषयमा विवाद हुँदा खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीय र हिमाली गाउँपालिकाका स्थानीयबीच झडप भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार घाइते हुनेमा वडा सदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, मिनु कुँवर, प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका कार्यकारी प्रमुख कुलबहादुर थापा रहेका छन्। उनीहरूको ढाड, गर्धन, छाती तथा खुट्टामा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
सीमा विवाद पुरानै भए पनि मंगलबार हिमाली गाउँपालिका अध्यक्षसहित ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ अभियान अन्तर्गत शैपाल हिमाल बेस क्याम्पतर्फ गइरहेको गोपाल हमाल नेतृत्वको टोली घटनास्थल पुगेपछि तनाव बढेको बताइएको छ।
प्रहरीका अनुसार टोलीले ड्रोनमार्फत भिडियो खिच्ने क्रममा थाली गाउँका करिब ३०० स्थानीय आक्रोशित बनेपछि विवाद चर्किएको थियो। त्यसपछि स्थानीयले मेयर हमालसहितको टोलीलाई अघि बढ्न नदिएको जनाइएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले लाम्पाटामा प्रहरी चौकी भवन निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। तर थाली गाउँका स्थानीयले उक्त क्षेत्र आफूहरूले विगतदेखि चलनभोग गर्दै आएको दाबी गर्दै चौकी निर्माणको विरोध गर्दै आएका छन्।