प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्। चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल चीन प्रस्थान गरेका हुन्। प्रधानसेनापति सिग्देल एयर चाइनाको जहाजबाट आइतबार बिहान ११ बजे छेन्दु प्रस्थान गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृतरथी प्रदीपजंग केसीले सिग्देललाई बिदाइ गरेका थिए।
भ्रमणअघि जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले प्रधानसेनापति सिग्देललाई सम्मान गारत अर्पण गरेको थियो। प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी केसीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्।
प्रधानसेनापति नियुक्त भएपछि सिग्देल पहिलो पटक चीन भ्रमणमा निस्किएका हुन्। यस अगाडि गतवर्ष भदौ २७ देखि असोज ४ गतेसम्म गोन्जाउ र सांघाइमा सैनिक एकाइहरूको कार्यक्रममा सहभागी हुन भ्रमण स्वीकृत भएपनि जेनजी आन्दोलन भएपछि सिग्देल रोकिएका थिए।
यस वर्ष पनि सैन्य अभ्यासको तयारी भइरहेको बेला सिग्देल चीन भ्रमणमा जान लागेका हुन्। स्रोतका अनुसार करिब एक साता लामो भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सैनिक सम्बन्ध,सुरक्षा सहकार्यका विषयमा छलफल हुने बताइएको छ।
प्रधानसेनापति सिग्देल भदौ २८ देखि असोज ३ गतेसम्म चीन भ्रमणमा रहने नेपाली सेनाले जनाएको छ। भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने The 13th Beijing Xiangshan Forum मा समेत सहभागिता जनाउने कार्यक्रम छ।