धनगढी । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका सुदूरपश्चिमका ११ जना सकुशल भेटिएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि सम्पर्कविहीन रहेकामध्ये ११ जना सम्पर्कमा आएका हुन् ।
उनीहरू विभिन्न जिल्लाका रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टले जानकारी दिए । उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का सुनिल चौधरी, भीमदत्त नगरपालिका–६ की चन्दा जोशी, वेदकोटका अजय राना, सुरेश राना र सन्तोष राना, बेलौरीका नवीन चौधरी र आदर्श चौधरी तथा कञ्चनपुरकै राकेश भट्ट र प्रदीप चन्द सम्पर्कमा आएका छन् ।
यस्तै, डडेल्धुराका सुनिल बुढामगर पनि सकुशल सम्पर्कमा आएको एसएसपी बिष्टले बताए । सम्पर्कमा आएका थप एक जनाको परिचय भने खुल्न बाँकी रहेको उनले जानकारी दिए ।
एसएसपी बिष्टका अनुसार सुदूरपश्चिमका अझै १२९ जना सम्पर्कविहीन छन् । उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।