सिफारिस

टेम्पो प्रकरणमा सुदूरपश्चिम सरकारले बनायो पाँच सदस्यीय छानबिन समिति

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४, गाइमारे चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट पल्टाइएको विषय छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार (असार १) मन्त्रीस्तरीय निर्णयानुसार प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाई सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले पत्रकार सम्मेलन गर्दै जानकारी दिए ।

डिभिजन वन कार्यालय कैलालीले विभिन्न स्थानमा अतिक्रमण हटाउने अभियान सञ्चालन गरिरहेको अवस्थामा शुक्रबार (जेठ २९) गोदावरी सामुदायिक वन क्षेत्रभित्र टेम्पो भीरबाट पल्टाइएको थियो । त्यससम्बन्धी फोटो/भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सरकारको चौतर्फी आलोचना गरिँदै छ । यही विषयमा मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको हो ।

छानबिन समितिमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य छन् ।

समितिलाई घटनाका सबै पक्षको अध्ययन, आवश्यक प्रमाण संकलन तथा जिम्मेवार निकायसँग समन्वय गरी वस्तुनिष्ठ प्रतिवेदन बुझाउन निर्देशन दिइएको सचिव कोइरालाले बताए ।

प्रदेश सरकारले छानबिनबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक निर्णय गरिने जनाएको छ ।

यसअघि, आइतबार (जेठ ३१) जिल्ला वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले पत्रकार सम्मेलन गर्दै टेम्पो नियतवश नखसाइएको बताएका थिए । हाल उनीसहित संलग्न अरू कर्मचारी सोधपुछका निम्ति जिल्ला प्रहरी कार्यालय कैलालीको निगरानीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार