धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको सभापतिमा कविन्द्र ठकुल्ला भारी मतान्तरसहित विजयी भएका छन्। आइतबार सम्पन्न जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा ठकुल्लाले ३३५ मत प्राप्त गर्दै नेतृत्व आफ्नो पक्षमा पारेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी महेश कुमार चौधरीले ३७ मत र हरी रेग्मीले २२ मत प्राप्त गरेका छन्। अध्यक्षका दुवै प्रतिस्पर्धीले निर्वाचन समिति अवैधानिक रहेको तथा मतदाता नामावलीमा धाँधली भएको आरोप लगाउँदै चुनाव बहिष्कार गरे पनि मतदान प्रक्रिया भने निर्धारित तालिकाअनुसार अघि बढाइएको थियो।
उपसभापतिमा रामलखन चौधरी १५२ मतसहित विजयी भएका छन् भने सचिवमा मदनराज जोशी र सहसचिवमा गणेशबहादुर शाही निर्वाचित भएका छन्।
सदस्य पदमा लक्ष्मी रावल पौडेल, लक्ष्मी भट्ट, जंगबहादुर आलेमगर, दीपक बिक र नरदिपबहादुर धामी विजयी भएका छन्। त्यसैगरी क्षेत्रीय सदस्यतर्फ कैलाली–१ मा टंकप्रसाद जैशी ढुंगाना, कैलाली–२ मा कृष्णबहादुर बिष्ट, कैलाली–३ मा बासुदेव घरेडी र कैलाली–४ मा दुर्गा अधिकारी निर्वाचित भएका छन्।
कुल ५०८ मतदाता रहेको निर्वाचनमा ३३५ मत खसेको थियो। अध्यक्षका प्रतिस्पर्धी चौधरी र रेग्मीले भने ५० मतको आँकडा समेत पार गर्न सकेनन्।