धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानउन्मुख बनेको छ। कांग्रेसका केन्द्रीय सहमहामन्त्री उदय शम्शेर राणाको उपस्थितिमा भएको छलफलमा असन्तुष्ट पक्षलाई सरकारमा समेट्ने सहमति भएको स्रोतले जनाएको छ।
सहमतिअनुसार असन्तुष्ट समूहले दुई मन्त्री र एक राज्यमन्त्री पाउनेछ। मुख्यमन्त्री कमलबहादुर शाह पक्षका तर्फबाट प्रमुख सचेतक विक्रम धामी, बहादुरसिंह थापा र प्रकाश बम वार्तामा सहभागी थिए।
हाल सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको भागमा मुख्यमन्त्रीसहित तीन मन्त्री र दुई राज्यमन्त्री छन्। नयाँ सहमतिअनुसार मुख्यमन्त्री शाह पक्षले मुख्यमन्त्रीसहित एक मन्त्री र एक राज्यमन्त्री राख्नेछ भने बाँकी दुई मन्त्री र एक राज्यमन्त्री असन्तुष्ट पक्षले पाउनेछ।
यद्यपि मन्त्रालयको बाँडफाँट भने अझै टुंगो लागिसकेको छैन। मुख्यमन्त्री शाहले मन्त्रालयको जिम्मेवारी निर्धारण गर्ने अधिकार आफूमा रहने अडान लिएका छन्। तर असन्तुष्ट पक्षले आर्थिक मामिला मन्त्रालय अनिवार्य रूपमा आफूले पाउनुपर्ने शर्त राख्दै आएको बताइएको छ।
स्रोतका अनुसार सहमति कार्यान्वयनका लागि शाह पक्षका मन्त्रीहरूले राजीनामा दिने तयारीसमेत थालेका छन्। यससँगै लामो समयदेखि जारी कांग्रेस संसदीय दलभित्रको शक्ति संघर्ष तत्कालका लागि साम्य हुने संकेत देखिएको छ।