धनगढी / सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी सवार मोटरसाइकल ट्राफिक प्रहरीको नियमित चेकिङमा परेको छ।
प्रहरीका अनुसार शुक्रबार साँझ धनगढीको शिवनगर क्षेत्रमा नियमित चेकजाँचका क्रममा सुपप्र ०१–०१० प ७२७२ नम्बरको मोटरसाइकल रोकिएको थियो। उक्त मोटरसाइकलमा पूर्वमुख्यमन्त्री सोडारीसहित तीन जना सवार रहेका थिए।
चेकजाँचका क्रममा मोटरसाइकल चालक जोशीपुर गाउँपालिका–३ निवासी ५० वर्षीय शिवराज विनाडीले ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोप लागेको छ। ट्राफिक नियम उल्लंघनबापत कारबाही प्रक्रिया अघि बढाउने क्रममा ड्युटीमा रहेका ट्राफिक प्रहरी जवान खगेन्द्र तिमिल्सिनामाथि विनाडीले हेलमेटले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घटनापछि विनाडीलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकलमा सवार पूर्वमुख्यमन्त्री सोडारीसहित अन्य व्यक्तिहरू भने घटनास्थलबाट हिँडेका थिए।
पक्राउ परेका विनाडीलाई छुटाउन विभिन्न प्रयास भइरहेको बताइएको छ। यद्यपि, ड्युटीमा खटिएका प्रहरीमाथि हातपात भएको भन्दै उनीविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।