करिब एक हप्ताको काठमाडौं बसाइपछि गोकरना भट्ट आज दिउँसो आफ्नो कर्मथलो कैलाली फर्किंदैछन्। यसैक्रममा उनले २–४ दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा औपचारिक रूपमा प्रवेश गर्ने जानकारी दिएका छन्।
भट्टले कार्तिक १४ गते नेकपा एमाले परित्याग गरेपछि कुनै पनि राजनीतिक दलको सदस्यता नलिई स्वतन्त्र नागरिकका रूपमा समाजसेवामा सक्रिय रहने मनसाय बनाएका थिए। तर आम जनतासँग प्रत्यक्ष रूपमा जोडिएका व्यक्तिका रूपमा दलविहीन अवस्थामा शुभेच्छुक तथा सर्वसाधारणका दैनिक समस्या समाधान गर्न असम्भवजस्तै भएको अनुभव आफूले गरेको उनले बताए।
करिब ४६ वर्षसम्म कम्युनिस्ट पार्टीको सदस्यता लिएर सक्रिय राजनीतिमा रहँदा नेपालका नामधारी कम्युनिस्टहरू क्रमशः ‘कम्युनिस्ट’ नभई ‘कमाउनिष्ट’मा रूपान्तरण भएको देखिएको भन्दै उनले ती दलहरू जनतालाई लुट्ने पसलजस्तै बनेको आरोप लगाए।
भट्टले पछिल्लो समय जनताबीच जबर्जस्त रूपमा लोकप्रिय हुँदै गएको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर आफ्ना शुभेच्छुकप्रति आशा र भरोसा कायम राख्ने तथा आफूविरुद्ध निरन्तर चरित्र हत्या र व्यङ्गबाण प्रहार गर्नेहरूलाई राजनीतिक रूपमा जवाफ दिने निर्णय लिएको बताएका छन्।
उनले आफ्नो राजनीतिक निर्णयले समर्थकहरूमा नयाँ ऊर्जा थपिने भए पनि विरोधी पक्षबाट गाली र आलोचनाको वर्षा हुने कुरा स्वाभाविक भएको उल्लेख गरे। राजनीतिक यात्रा सहज नहुने र षड्यन्त्र तथा जालझेलमार्फत फसाउने प्रयास हुने वास्तविकता आफूलाई राम्रोसँग थाहा भएको उनले स्पष्ट पारे।
हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भइरहेको घटनाक्रमलाई षड्यन्त्रको उदाहरणका रूपमा उल्लेख गर्दै भट्टले यसको मूल्यांकन अन्ततः नेपाली जनताले नै गर्ने विश्वास व्यक्त गरे।
लामो समयसम्म शुभेच्छुकहरूलाई अन्योलमा राख्नु उपयुक्त नठानेको भन्दै उनले २–४ दिनभित्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने औपचारिक घोषणा गरेका हुन्।