काठमाडौँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन भएको छ । ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उनको उपचारको क्रममा मंगलबार निधन भएको हो ।
पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले उनको निधन भएको पुष्टि गर्दै भोलि बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म पार्थिव शरीर पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिए । श्रेष्ठ क्यान्सर पीडित थिए ।
श्रेष्ठका ३ छोरा र ६ छोरी छन् । स्याङ्जाबाट पटक–पटक संसदीय निर्वाचन जितेका श्रेष्ठले विगतमा भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भूसंरक्षण मन्त्री, उद्योग मन्त्री र शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
उनी उपप्रधानमन्त्री पनि बनेका थिए । काङ्ग्रेस संसदीय दलको प्रमुख सचेतक समेत रहिसकेका श्रेष्ठ तत्कालीन नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापतिसमेत बनेका थिए ।